काठमाडौँ, साउन २६ — आज हिन्दू धर्मावलम्बीका लागि विशेष दिन — साउन महिनाको अन्तिम सोमबार, जसलाई भगवान शिवको प्रिय दिन मानिन्छ। विहानैदेखि पशुपतिनाथ, डोलेश्वर, कुम्भेश्वर, हलेसी महादेवलगायत देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ। महिलादेखि युवासम्मले सोमेश्वर व्रत गरेर, बेलपत्र, गंगाजल र धतुरो अर्पण गर्दै भगवान शिवको आराधना गरिरहेका छन्।
धार्मिक मान्यताअनुसार सोमबारको व्रत, विशेषगरी साउन महिनामा, भगवान शिवलाई प्रसन्न गराउने सर्वोत्तम उपाय मानिन्छ। यस दिन चन्द्रमाको पूजा गर्ने परम्परा पनि रहिआएको छ, जसले मानसिक शान्ति र सांसारिक संकटबाट मुक्ति दिलाउने विश्वास गरिन्छ।
संहारका पनि देवता
भगवान शिवलाई एकातर्फ भोलेनाथ — दयालु र सहज स्वभावका देवता —का रूपमा पूजा गरिन्छ भने अर्कातर्फ संहारकर्ता महादेवका रूपमा पनि सम्मान गरिन्छ। त्रिदेवमध्ये संहारको अधिपति मानिएका शिव सृष्टि, स्थिति र लय — तीनै चक्रका स्वामी हुन्। उनी अनादि र अनन्त स्रोतका रूपमा वेद, पुराण र ज्योतिषशास्त्रमा वर्णित छन्।
धार्मिक विश्वास अनुसार शिवको नाम स्मरण गर्दा मानसिक तनाव, अशान्ति र कठिनाइहरू स्वतः हट्छन्। आजको दिन विशेषगरी यी १० नामको जप गरिन्छ—
ऊं अघोराय नमः
ऊं शर्वाय नमः
ऊं विरूपाक्षाय नमः
ऊं विश्वरूपिणे नमः
ऊं त्र्यम्बकाय नमः
ऊं कपर्दिने नमः
ऊं भैरवाय नमः
ऊं शूलपाणये नमः
ऊं ईशानाय नमः
ऊं महेश्वराय नमः
शिव पूजा विधि
व्रत र पूजाको आरम्भ प्रातः स्नान र शुद्धतासहित हुन्छ। भक्तजनले शिवालयमा गंगाजल वा पवित्र जल चढाउँछन्। त्यसपछि शिवलिङ्गमा चन्दन, अक्षता (चामल), बेलपत्र, सेतो फूल र धतुरो अर्पण गरिन्छ। पूजामा घीउ, शक्करको भोग र धूप–दीपसहित आरती गर्ने परम्परा छ।
आजको विशेष मन्त्र
भक्तजनले आज विशेषगरी यी मन्त्रहरूको जप गरेर भगवान शिवलाई प्रसन्न पार्ने विश्वास गर्छन्—
ऊं नमः शिवाय
नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः
ऊं नमो नीलकण्ठाय
ऊं पार्वतीपतये नमः
ऊं पशुपतये नमः
आजको दिन, साउन महिनाभरको व्रत विधिपूर्वक सम्पन्न गरेर महिलाले वैवाहिक सुख, दीर्घायु र पारिवारिक समृद्धिको कामना गर्छन्। त्यस्तै, अविवाहित युवतीहरूले सुयोग्य वर पाउने आकांक्षासहित शिवको आराधना गर्दछन्।
देशभरका शिवालयमा ‘बोलबम’को जयघोष गुञ्जिरहेका छन्, भक्तजनको श्रद्धा र भक्ति वातावरणमा विशेष ऊर्जाको अनुभूति दिलाइरहेको छ।
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution