

१२ साउन, चितवन — नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले देशभर कतै पनि औपचारिक रूपमा लोडसेडिङ नभएको स्पष्ट पारेका छन्। चितवनमा पछिल्ला दिनहरूमा देखिएको विद्युत आपूर्ति अवरोधप्रति प्रतिक्रिया दिँदै उनले, “यो लोडसेडिङ होइन, लोड थाम्न नसकेर लाइन गएको हो,” भन्दै गलत बुझाइ फैलिएकोप्रति असन्तोष व्यक्त गरे।
भरतपुरमा पत्रकारसँग कुरा गर्दै कार्यकारी निर्देशक शाक्यले मौसमीय कारण र पुरानो वितरण प्रणालीकै कमजोरीले चितवनसहितका केही ठाउँमा अस्थायी समस्या देखिएको बताए। “अहिलेको सञ्जालले गर्मीको कारण बढेको माग धान्न नसक्दा लाइन जाने समस्या देखिएको हो, यो लोडसेडिङ होइन,” उनले भने।
उनका अनुसार देशमा मनसुन कमजोर भएको र पर्याप्त वर्षा नपरेका कारण किसानहरूले बोरिङबाट सिंचाइ गर्न थालेपछि एकैसाथ धेरै मोटर चलेर प्रणालीमा दबाब परेको छ। “हामीले साँझ ५ बजेदेखि ९ बजेसम्म बोरिङ मोटर नचलाउन आग्रह गरेका थियौं, तर त्यो सुझाव लागू भएन,” उनले बताए।
सूचना प्रकाशनमै त्रुटि
शाक्यका अनुसार केही वितरण केन्द्रहरूमा प्राविधिक समस्याबारे सूचनाहरू प्रकाशन गर्दा ‘लोडसेडिङ’ भनेर प्रचार गरिएकोले जनतामा भ्रम फैलिएको हो। “कतिपय स्थानमा प्राधिकरण कार्यालय घेराउ गरिएर सूचना निकाल्न दबाब दिइयो, त्यसैले यस्तो सन्देश गयो,” उनले प्रष्ट पारे।
समाधानको पहल
शाक्यले चितवनको समस्या समाधानका लागि पहल तीव्र पारिएको जनाउँदै मंगलबार बेलुकासम्म स्थिति सामान्य हुने आश्वासन दिए। “अबको अवस्था अहिलेको जस्तो हुँदैन, सुधारको तयारी भइसकेको छ,” उनले भने।
पूर्वी चितवनको हर्दीमा नयाँ २४ एमभीएको ट्रान्सफर्मर जडान गरिसकिएको र परीक्षण सफल भएको जानकारी दिँदै प्राधिकरणले टाँडी, भण्डारा, चैनपुर लगायतका क्षेत्रका समस्या समाधान गर्ने योजना अघि सारेको छ।
भरतपुर महानगरपालिका–१३ को देवनगर सवस्टेशनमार्फत माडी क्षेत्रतर्फ लाइन विस्तारको तयारी भइरहेको प्राधिकरण स्रोतले जनाएको छ। यसपछि चितवनको पूर्वी र पश्चिमी भागमा देखिएको विद्युत समस्यामा ठुलो सुधार आउने अपेक्षा गरिएको छ।
—
जनताको गुनासो
यद्यपि प्राधिकरणले लोड व्यवस्थापन भन्दै समस्या सामान्य हो भन्ने दाबी गरिरहँदा चितवनका बासिन्दा भने निरन्तर विद्युत अवरोधले हैरान छन्। व्यवसायीहरू, किसानहरू र सामान्य उपभोक्ताहरूले ‘लोडसेडिङ नभएको’ भनाइप्रति गम्भीर प्रश्न उठाइरहेका छन्।
“राति ८ बजेदेखि नै लाइन जान्छ, बिहानसम्म आउँदैन। यो के लोड व्यवस्थापन?” एक स्थानीय व्यापारीको गुनासो थियो। अर्का किसानले भने, “पानी तान्न बोरिङ चलाउनु पनि नपाउने हो भने खेती कसरी गर्ने?”
यसरी, कार्यकारी निर्देशकले सार्वजनिक रूपमा स्थिति सामान्य बनाउँदै बोलेपनि स्थानीय अनुभव भने अझै पीडादायक छ।







अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution