कञ्चनपुर, लालझाडी — “५० प्रतिशत अनुदानमा कृषि उपकरण दिने” नाममा दुईवटा सहकारी र एक गैरसरकारी संस्थाले कञ्चनपुरको लालझाडी गाउँपालिकाका साढे तीन सयभन्दा बढी किसानहरूबाट करिब अढाई करोड रुपैयाँ ठगी गरेका छन्।
अनमोल कृषि सहकारी, दोदा साना किसान सहकारी र सुरो नेपाल नामक एनजिओले सहकार्यमा आधुनिक कृषि सामग्री उपलब्ध गराउने भन्दै किसानहरूबाट ठूलो रकम उठाएका थिए। एक वर्ष बित्दा पनि न पैसा फिर्ता भयो, न सामग्री आइपुग्यो।
त्यसपछि बुधबार आक्रोशित किसानहरूले ती सहकारीहरूमा तालाबन्दी गरेका छन्।
सहकारीमार्फत उठाइयो लाखौंको रकम
गत वर्ष अनमोल कृषि सहकारीले ११० किसानबाट ४८ लाख ४६ हजार रुपैयाँ, र दोदा साना किसान सहकारीले २५० किसानबाट एक करोड ९३ लाख रुपैयाँ संकलन गरेको तथ्य खुलेको छ।
किसानहरूका अनुसार पावरटिलर, पानी तान्ने मोटर, घाँस काट्ने मेसिन र औषधि छर्किने ट्यांकीका लागि यो रकम उठाइएको थियो। अधिकांश किसानले उक्त रकम बैंक, सहकारी वा आफन्तसँग ऋण लिएर तिरेका थिए।
“ऋण तिरेर पैसा बुझायौं, अहिले हात खाली”
लालझाडीका किसान अर्जुन चौधरीले भने, “दोदा साना किसान सहकारीमार्फत पावरटिलर र अन्य सामग्री पाइन्छ भन्ने आशमा ९५ हजार रुपैयाँ बुझाएको थिएँ। अहिले न त पैसा फर्किएको छ, न त सामग्री नै पाइयो।”
त्यस्तै, किसान खडक रानाले अनमोल सहकारीमा नै गएर ७५ हजार बुझाएको भए पनि कुनै पनि सामग्री नपाएको गुनासो गरे।
स्थानीय रतनसिंह रानाका अनुसार सुरो नेपालले स्थानीय एजेन्ट र सहकारीहरू मार्फत रकम उठाएर केही व्यक्तिहरू विदेश भ्रमणमा समेत गएको आरोप पनि लागेका छन्।
सुरो नेपालका दुई जना जेलमा, अन्य विरुद्ध अनुसन्धान
ठगी प्रकरणमा सुरो नेपालका अध्यक्ष सुशीला खड्का र सहयोगी सुनिता चौधरी पुर्पक्षका लागि जेल चलान भइसकेका छन्।
कञ्चनपुर प्रहरीका प्रवक्ता सागर बोहराका अनुसार सहकारीकर्मी टीकाराम चौधरी र नवराज ओझाविरुद्ध पनि उजुरी परेको छ। अनुसन्धान जारी रहेको र अन्य संलग्नहरू पनि कारबाहीको दायरामा आउने जानकारी उनले दिएका छन्।
किसानको रकम फिर्ता गराउने पहल सुरू
लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले किसानलाई ठगी गर्नेहरू विरुद्ध कानुनी कारबाही अघि बढिसकेको बताए। उनले भने, “ठगिएका किसानको पैसा संलग्न व्यक्ति वा संस्थाको चल–अचल सम्पत्तिबाट असुल गर्ने काम भइरहेछ। बाँकी दोषीहरूविरुद्ध पनि छानबिन गरी कारबाही गरिनेछ।”
सहकारीहरूले एनजिओकै खातामा रकम पठाएको दाबी
अनमोल कृषि सहकारीका व्यवस्थापक खड्क रानाले ४८ लाख रुपैयाँ सुरो नेपालको खातामा पठाइएको बताए। उनले भने, “सहकारीले रकम हिनामिना गरेको छैन। ४० थान पानी तान्ने मोटर मात्रै आएको हो।”
त्यस्तै, दोदा साना किसान सहकारीका व्यवस्थापक गणेश रानाले पनि एक करोड ९३ लाख रुपैयाँ सुरो नेपालकै खातामा जम्मा गरिएको स्वीकार गरेका छन्। उनका अनुसार केही सामान आएको भए पनि अधिकांश अझै नआएको हो।
ठगीको जालोः अनुदानको नाममा किसान शोषित
यो घटनाले फेरि एकपटक अनुदानको लोभमा परेका किसानहरू कसरी योजनाबद्ध रूपमा ठगिन्छन् भन्ने कुरा उजागर गरेको छ। एनजिओ र सहकारीको मिलेमतोमा भएको यस्तो आर्थिक अनियमितता कञ्चनपुरमा मात्र नभई राष्ट्रिय तहको निगरानी र कारबाही आवश्यक भएको देखिएको छ।
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution