


काठमाण्डौ १० असोज । कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा | नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला) पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
पार्टी संगठनमा लामो समयदेखि सक्रिय तामाङले विभिन्न तहमा निर्वाह गरेको जिम्मेवारी र कार्यकर्तासँगको सहकार्यलाई आधार बनाउँदै महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढ्ने बताएका छन् । तामाङ हाल मेलम्ची नगरपालिकाका प्रमुख छन् । यसअघि उनले नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. २ को क्षेत्रीय सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट मेलम्ची नगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि उनले स्थानीय सरकार सञ्चालनसँगै पार्टी गतिविधिमा समेत सक्रियता देखाउँदै आएका छन् । महाधिवेशन प्रतिनिधिका रूपमा प्राप्त अनुभवलाई पार्टी संगठन सुदृढीकरणमा उपयोग गर्ने तामाङको भनाइ छ ।
कार्यकर्तासँग नियमित संवाद, संगठनमा समन्वय तथा पार्टीको विधि र विधानको पालना आफ्नो प्राथमिकतामा रहने उनले बताएका छन् । कांग्रेसभित्र अग्रजको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई जोडेर संगठनलाई थप गतिशील बनाउनुपर्नेमा पनि तामाङले जोड दिएका छन् ।
पार्टीलाई बलियो बनाउन नेतृत्वसँगै तल्लो तहका कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । संगठनमा गरेको निरन्तर काम र विभिन्न जिम्मेवारीबाट प्राप्त अनुभवलाई अझ प्रभावकारी रूपमा संगठन निर्माणमा लगाउने मेरो प्रतिबद्धता हो,” तामाङले भने, “सबै कांग्रेसजनको सुझाव, साथ, सहकार्य र अमूल्य मतको अपेक्षा गरेको छु ।”
उनले १५औँ महाधिवेशनलाई नेतृत्व चयन गर्ने प्रक्रियासँगै पार्टीको संगठन, एकता र लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution